Logo

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ: प्रधानमन्त्री



काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन्

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् ।

‘‘ सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ केन्द्रित हुन्छ । पछिल्ला दिनहरुमा केही सकारात्मक सङ्केतहरु पनि देखिन थालिसकेका छन् ।’’, प्रधानमन्त्री दाहालले भने, ‘‘मेरो तेस्रो कार्यकाल मुलुकको समग्र आर्थिक अवस्थाका हिसाबले निकै चुनौतीपूर्ण छ र यो चुनौतीलाई सामना गर्ने अवसरका रुपमा पनि मैले हेरेको छु ।’’ नयाँ संविधान निर्माणपछि आर्थिक रुपमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सम्भव नभएको दाहालले बताए ।

‘‘हाम्रो अर्थतन्त्रले भूकम्पको नराम्रो धक्का खायो । त्यसपछि कोभिड-१९ महामारीको कारण विश्वव्यापी रुपमा देखिएको सङ्कटको असर देखियो । राजनीतिक उतारचढाव र अस्थिरताको असर पनि परेको छ । रुस-युक्रेन युद्धको असर अझै देखिइरहेको छ’’, उनले भने । सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइकन आर्थिक सुधार गर्न नसकिने भएकाले अहिलेको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्यस्तो निर्णय गरेको उनको भनाइ छ ।

‘‘अर्थतन्त्रको अहिलेको दबाब निजी क्षेत्रको सहयोगबिना सामना गर्न सकिँदैन भनेर सरकारले पहिलो निर्णयबाटै सहकार्य अघि बढाएको छ । यो बीचमा धेरै बैठक र अन्तरक्रिया भएका छन्’,’ प्रधानमन्त्री दाहालले भने, ‘‘निजी क्षेत्रबाट धेरै सुझाव सरकारले लिएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग पनि प्रधानमन्त्रीका रुपमा मैले धेरै नै छलफल गरेको छु, तर अपेक्षित रुपमा सुधार नभएकै हो । ’’ सरकार अहिले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम निर्माणका क्रममा रहेकोले तरलता अभाव समस्या, न्यून राजस्व, रेमिट्यान्सलगायत विभिन्न आर्थिक सूचकहरुलाई कसरी सुधार्दै जाने भन्नेबारे गम्भीर रुपमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्