Logo

अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस: कार्की



सुनसरी, ११ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताएका छन् ।

आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताए ।

पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

उनले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गरे । मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिएका छन् ।

“दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ”, मुख्यमन्त्री कार्कीले भने, “निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्