Logo

`अर्थतन्त्र सुधारको अनुभूति भए पनि नागरिकमा आशाको सञ्चार हुन सकेन´



काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभूति भए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् ।

बिहीवार काठमाडौँमा भएकाे ‘रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार नदेखिएको बताएका हुन् । उनले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनका लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका थिए ।

उनले भने, ‘तथ्याङ्कहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ । तर व्यवहार र आमनागरिकमा आशाको सञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ । अर्थतन्त्रमा केन्द्रित रहेर बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु । यसमा पनि सबैको साथ सहयोग रहने छ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताए । उनले अहिले हरेक कुरालाई नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार तयार रहेकाे प्रतिबद्धता जनाए । उनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रम अगाडि सारिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्