
सुदूरपश्चिम, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको अर्थतन्त्रलाई लयमा फर्काउन सकेमा त्यो आफ्ना लागि गौरवको विषय हुने बताए ।
प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको सुरुको अवस्थामा निराशाजनक रहेको अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्रीले बताए । उनले भने, “अर्थतन्त्र अझै दबाबमा रहे पनि अहिले रेमिट्न्स बढेको, धेरै पर्यटक नेपाल भित्रिएको, गत महिनादेखि राजस्व बढेको र विदेशी मुद्राको सञ्चिति १७ महिनालाई पुग्ने गरी बढेको छ ।” सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अभियान सुरु गर्न जमर्को गरिएको उनले उल्लेख गरे ।
“एकथरि मान्छेले निराशा बाँडेर प्रचार गरेका छन्, ७० वर्ष लडेर प्राप्त परिवर्तनलाई उल्ट्याउने प्रयास गरेका छन्”, उनले भने, “आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिइने छैन ।”
प्रधानमन्त्री प्रचण्डले एनसेलको खरिदबिक्रीका सन्दर्भमा सरकारले छानबिन समिति गठन गरेको बताए । राजनीति पनि मोटामोटी लयमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्ने अराजकतावादीका विरुद्ध दल एकठाउँमा उभिएको बताए ।
सुदूरपश्चिमको समग्र विकासका लागि आफू दत्तचित्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उद्योग शिक्षा स्वास्थ्यको विकासको सवालमा आफूले प्राथमिकता दिएको बताए । गेटामेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वाविद्यालय बनाउने विधेयक छलफलमा रहेकाले यो विधेयक चाँडै पारित हुने बताउँदै उनले यो विषयमा कुनै अन्योल नराख्न आग्रह गरे ।
धनगढीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले उरैभञ्ज्या नाका, दोधारा चाँदनी सुक्खा बन्दरागाह, पञ्चेश्वर जलविद्युत् परियोजनाको कामअघि बढिरहेको बताए । उनले खप्तड क्षेत्रको विकास, परशुराम धाम, महाकाली नदीमाथि मोटरेबल पुल निर्माण जस्ता कामअघि बढाउन लागिएको बताए ।







