काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन् ।
आज नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए ।
उनले भने, ‘देशको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’
उनले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’







