काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएकैले शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले कमिशन नआउने भएकैले शिक्षा र स्वास्थ्यको बजेट कटौती गरेको भन्दै शर्मालाई प्रश्न गरेका हुन्।
अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडिओ टिकटकमा भाइरल भएको स्मरण गराए।
‘अहिले टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडिओ आइरहेको छ। सायद उहाँले पनि हेर्नु भयो होला। त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनु भएको थियो। त्यो मैले हिजो मात्रै टिकटकमा हेरे। शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ। शिक्षाको बजेटमा त २० प्रतिशत हुनु पर्थ्यौँ, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपर्थ्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन् भने अर्थमन्त्रीहरू त्यहाँ कमिशन आउँदैन । ’
पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै खालको हित गर्न नसक्ने बताए ।