Logo

अर्थमन्त्रीमाथि उठेको सवालहरूको हेलचेक्र्याइँ गर्नु हुँदैन: खनाल



काठमाडौँ, २२ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ (माओवादी केन्द्र) र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्रीमाथि उठेको सवालहरूको हेलचेक्र्याइँ गर्न नहुने बताए ।

उनले अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरूलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।

“अहिले जुन धरातलबाट यो प्रश्न उठेको छ । यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ । सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ । यस्ता सवालहरूमा हामीले हेलचेक्र्याँइ गर्नु हुँदैन । लिपपोत पनि गर्नु हुँदैन । मुलुकमा सबै कुरा पारदर्शी हुनुपर्छ भनेर हामी संविधान लेख्ने । अनि काममा त्यो नगर्ने खालको कुराहरू हुनु हुँदैन । सबैकुरा पारदर्शी हुनुपर्छ । र कहीँ गल्ती, कमजोरी भएको छ भने सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्