Logo

अलकत्र बोकेको ट्यांकरमा आगलागी, सहचालक घाइते



कञ्चनपुर, ७ असार । महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्र बोकेको ट्यांकरमा आगलागी भएको छ ।

भीमदत्त नगरपालिका-१८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्न अलकत्र बोकेको ट्यांकरमा गएराति एक्कासि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमल ट्यांकर जलेर क्षतिग्रस्त भएको जानकारी दिए । ना ४ ख ७८८८ नम्बरको ट्यांकर निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा आगलागी भएको निर्माण कम्पनी जेडआईईसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए ।

घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी थारु घाइते भएका छन् । महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्