झापा, १६ मंसिर । अलैँची कृषक तथा व्यवसायीले उत्पादन र बजारको समस्यले मूल्यमा गिरावट आएको निष्कर्ष निकालेका छन् ।
स्वीस सरकारको सहयोगमा नेपाल अलैँची व्यवसायी महासंघले शुक्रबार बिर्तामोडमा आयोजना गरेको अलैँचीको बर्तमान अवस्था र बजारीकरणका सम्भावनाहरु विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले उत्पादनदेखि बजारको समस्याले मूल्यमा उत्तार चढाब आएको बताए ।
उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव लेखराज दाहाल, उपसचिव पशुपति पोखरेल, अलैँची उत्पादन हुने पहाडी जिल्लाबाट प्रतिनिधित्व गर्ने कोशी प्रदेश सभा सदस्य, कृषि ज्ञान केन्द्रका प्रमुख, कृषि विकास निर्देशनालयको प्रमुखलगायतको सहभागिता थियो ।
कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका तर्फबाट अलैँची खेती तथा व्यवसायका समस्या समाधान गर्न आग्रह गरेका छन् । महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैँची खेती तथा व्यवसायका समस्या सम्बन्धमा गम्भीर बन्न आग्रह गरे ।
अध्यक्ष भट्टराईले अलैँची व्यवसायमा समस्याका चाङ रहेकाले अलैँची प्रवर्धनका लागि आग्रह गरे । अलैँचीको उत्पादन घट्दै गएको छ, अध्यक्ष भट्टराईले भने, अलैँचीको रोग नियन्त्रण हुन नसक्नु, किसानलाई प्राविधिक सेवा उपलब्ध नहुनु, सिँचाइ व्यवस्था नहुनु उत्पादन वृद्धि नहुनुका मुख्य कारण हुन् ।
कोशी प्रदेशमा मकै, आलु, अलैँची लगायतका कृषि बस्तुको खेती तथा व्यवसाय प्रवर्धन सम्बन्धी काम गर्दै आएको सहजको टिम लिडर रिमा श्रेष्ठले बताइन् । उनले कृषकको कृषि जन्य बस्तुको उत्पादन र बजारीकरणमा सहयोग गर्न काम गरिरहेको बताइन् ।
अलैँचीको उत्पादन तथा खेती विस्तारका लागि कृषकमा प्राविधिक ज्ञानको कमी, अलैँची सुकाउने आधुनिक भट्टीको अभाव, सिँचाइको पर्याप्त व्यवस्था नहुनु, मल–बीउको अभाव, जिल्ला तथा केन्द्र तहमा अलैँचीको गोदामघर नहुनु, गैरकानुनी तथा दोहोरो कर संकलन, मूल्यको उतार–चढाव, पछिल्लो समयमा भारत तथा भूटानमा तीव्र रूपमा अलैँची खेती विस्तार हुनु, विश्व बजारमा नेपाली अलैँचीको आफ्नै पहुँच पुग्न नसकेर भारतीय बजारमा निर्भर हुनु मुख्य चुनौती रहेकोे सहभागीको धारणा थियो ।
मन्त्रालयका उपसचिव पशुपति पोखरेल, तरहरा कृषि अनुसन्धान निर्देशनालयका गोविन्द तिम्सिना र नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार दीपक नेपाल सहभागी थिए । ‘कालो सुन’ को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता रहेको महासंघका महासचिव नारायण चिमरीयाले बताए ।
अलैँची उत्पादकदेखि निर्यातकर्ताका समस्या सम्बोधन गर्न र नयाँ बजारको खोजीमा सरकारले सहयोग गर्नु पर्ने अलैँची व्यवसायी तथा निर्यातकर्ताको जोड थियो । अलैँचीको भण्डारण गर्ने गोदाम घरहरू निर्माण गर्ने, अलैँची महोत्सव, बजारीकरणको क्षेत्रमा कार्य गर्नु पर्ने सहभागीले बताए ।
नेपालका ५२ वटा जिल्लामा १७ हजार हेक्टर जमिनमा अलैँची खेति विस्तार भएको छ । वार्षिक ८ हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुने अलैँची ५ प्रतिशत नेपालमा खपत हुने र बाँकी भारतलागतयका देशमा निर्यात हुने गरेको छ । अलैँची निर्यातबाट वार्षिक १० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन हुँदै आएको तथ्याङ्क छ ।






