Logo

अलैंचीको मूल्य उच्च विन्दूमा, मनकाे एक लाख सात हजार रुपैयाँ



ताप्लेजुङ ६ मंसिर । माग बढेसँगै अलैंचीको बजार मूल्य यस वर्ष उच्च भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज प्रतिमन (४० किलो) को एक लाख सात हजार रुपैयाँसम्ममा खरिद/बिक्री भएको छ ।

अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर गरी दुई प्रकारले खरिद/बिक्री हुने गर्छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजार रुपैयाँमा खरिद/बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ । अलैंचीकाे मूल्य निरन्तर वृद्धि हुँदै गएको छ ।

अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भदौको पहिलो हप्तादेखि बजारमा निस्किएको अलैंचीको मूल्य लगातार बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्