काठमाडौँ, ११ असार । पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ ।
ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको छ ।
पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाडौँमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ ।
यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा समेतमा प्रतिकूल असर पर्ने भएकोले प्रहरी प्रधान कार्यालय एवम् केन्द्रीय अनुसन्धान ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ ।
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-९, बेलाटारीका ५६ वर्षका सुनिल बानियाँ भनिने सुनिल कुमार गुप्ता र वर्ष ६५ का जगदिश बानियाँ भनिने जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।