श्रीलंका, २६ जेठ । अष्ट्रेलियाले दोस्रो टि-२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।
योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक खेल अगावै २-० ले जितेको छ ।
जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले २६, कप्तान आरोन फिन्च २४, डेविड वार्नर २१, मिचेल मार्श ११, ग्लेन म्याक्सवेल १९ र मार्कस स्टोइनिस ९ रनमा आउट भएका थिए भने झेय रिचर्ड्सन ९ रनमा अविजित रहे ।
श्रीलंका लेग स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चामिरा र नुवान थुशराले १-१ विकेट लिए ।
त्यसअघि आर प्रमदासा कोलोम्बोमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । श्रीलंकाको चरिथ असलंकाले ३९, कुशल मेन्डिस ३६, भानुका राजपक्षे १३, दासुन शनका १४ र वानिन्दु हसरंगा १२ रनमा आउट भएका थिए ।
अष्ट्रेलियाका केन रिचर्ड्सनले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए भने झेय रिचर्ड्सनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए ।