Logo

असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ: सिंह



तनहुँ, २८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारका लागि पुगेका सिंहले आज डुम्रेमा आयोजित कार्यकर्ता भेटघाटमा हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने, “हरेक पार्टीमा असन्तुष्टि होला, चुनाव मुखैमा आइसक्यो । अरु कुरालाई पछि सम्बोधन गरौँला । गठबन्धनका नेताहरू इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”

नेता सिंहले गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, अनि गठबन्धनका उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उनले भने ।

पुराना दलले केही गर्न सकेन भनेर जन्मिएका नयाँ दलले पनि केही गर्न नसकेको सिंहको भनाइ थियो । “बोल्नका लागि नारा दिन सजिलो छ, काम गरेर देखाउन गाह्रो छ, नयाँ दलले पनि केही गर्न नसकेको त देखिहालियो नि”, उनले भने । नेता सिंहले वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताए । संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नका लागि गठबन्धन बनेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्