काठमाडौं, ७ माघ । अस्ट्रेलियाको तस्मानिया टापुको तटमा एक सय ५० भन्दा धेरै ह्वेल माछा फसेका छन् । त्यहाँका स्थानीय अधिकारीहरूका अनुसार एक सय ५७ ह्वेल माछा टापुको पश्चिमी तटमा रहेको आर्थर नदीको शहर नजिकै फसेका छन् ।
तीमध्ये कम्तीमा ९० वटा अझै जीवित रहेका हुनसक्ने राज्यको समुद्री संरक्षण कार्यक्रमले जनाएको छ । यसबारे थप अनुसन्धान र मूल्याङ्कन भइरहेको विज्ञ टोलीले बताएका सीएनएनको खबरमा उल्लेख छ ।
तस्मानियाको प्राकृतिक संशाधन र वातावरण विभागका अनुसार समुद्री संरक्षण कार्यक्रमअन्तर्गत तस्मानिया पार्क र वन्यजन्तु सेवासँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहेकाले नागरिकलाई सम्बन्धित जनावरहरू नजिक नजान आग्रह गरिएको छ ।
दुर्गम क्षेत्रमा ह्वेल माछा फस्नु जटिल अवस्था रहेको भन्दै अनुसन्धानकर्ताले नागरिकको सहायता आवश्यक परेमा खबर गरिने बताएका छन् । ह्वेलहरू संरक्षित प्रजाति भएका पशु व्यवहारविद् र सामुद्रिक वैज्ञानिकले बताएका छन् ।