काठमाडौँ, १२ असोज । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण भएर सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन् ।
सिकिस्त बिरामीको सङ्ख्या बढेसँगै कतिपय अस्पतालमा आईसीयू र भेन्टिलेटरमा राखेर पनि बिरामीको सङ्क्रमितको उपचार गर्नुपर्ने अवस्था आएको उनीहरूले बताए ।
सिकिस्त भएर क्रिटिकल केअरमा राखिएका केही बिरामीको निधन समेत भएकाले डेङ्गी सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
डेङ्गी सङ्क्रमण हुँदा आवश्यक पर्ने सिटामोल तथा अन्य औषधिको अभाव भएको र केही अस्पतालमा क्रिटिकल केअर युनिटमा बिरामीलाई भर्ना गर्न स्थान अभाव भएको विवरण पनि आउन थालेका छन् ।
तर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले चाहिँ सरकारले डेङ्गी नियन्त्रणका लागि सरकारले ‘यथासक्दो प्रयास गरिरहेको’ बताएका छन् ।