Logo

अहिलेको सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने पक्का: शर्मा



काठमाडौँ, ७ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिलेको सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने पक्का भएको बताएका छन् ।

राष्ट्रपतिमा यही गठबन्धन हुन्छ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गठबन्धनबाट सभामुख र उपसभामुख बनाइएको भन्दै उनले अब राष्ट्रपति पनि निर्वाचित हुने बताए ।

“सभामुख, उपसभामुख चयन भइसक्यो । केही दिनमा एजेन्डामा प्रवेश हुन्छ अनि छलफल हुन्छ,” राष्ट्रपतिबारे उनले भने, “अहिले गठबन्धनबाटै उमेदवार बन्ने स्पष्ट छ ।”

शर्माले प्रतिपक्षले पनि सरकारलाई जसरी नै राष्ट्रपतिमा पनि सघाउने अपेक्षा रहेको बताए । भने, “उहाँहरूको अपेक्षा थाहा भएन । जसरी सरकार बनेको छ, प्रतिपक्षी पनि सहभागी भए राम्रो । नभए पनि वर्तमान गठबन्धनको हुन्छ ।”

शर्माले अब गठबन्धन बनाउने र फुटाउने खेलमा लाग्न नहुने बताए । गठबन्धन फुटाउने समय सकिएको भन्दै उनले यो खेलमा लाग्न नहुने बताए ।

राष्ट्रपति निर्वाचनको विषयमा उनले भने, “गोप्य मतदान हुने भएकाले ह्विप त हुन्न । तर पनि पार्टीले प्रस्ताव गर्ने हो । राष्ट्रपति गठबन्धनको हुन्छ, सरकारको हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्