Logo

अहिलेसम्म २८ क्षेत्रको नतिजा आउँदा कहाँ को विजयी ? (सूचीसहित)



काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामसँगै देशभर चुनावी सरगर्मी थप बढेको छ। हालसम्म कुल १६५ निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना राजनीतिक दलहरूको ‘किल्ला’ मानिएका क्षेत्रमा समेत अप्रत्याशित जित निकाल्दै आफ्नो प्रभाव बढाएको छ। हालसम्म घोषणा भएका २८ क्षेत्रमध्ये २० क्षेत्रमा जित निकाल्दै रास्वपा पहिलो स्थानमा देखिएको छ।

रास्वपाले विशेषगरी काठमाडौं, कास्की, मोरङ लगायत तराईका जिल्लाहरूमा प्रभावशाली जित हासिल गरेको छ।

पछिल्लो अपडेटअनुसार महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो निर्वाचित भएका छन्। उनले ३४ हजार ६२६ मत प्राप्त गर्दै गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन्।

त्यस्तै बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित विजयी भएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुमन मल्ल र नेपाली कांग्रेस का अमर सिंह पुनलाई पछि पार्दै जीत हात पारेका हुन्।

मतगणना अझै जारी रहेकाले अन्य क्षेत्रको अन्तिम परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन अधिकारीहरूले बताएका छन्।

रास्वपाबाट विजयी अन्य उम्मेदवारहरू:

  • धनुषा–३: मनिष झा (४३,१४२ मत)

  • मोरङ–६: रुबिना आचार्य (५५,५१३ मत – डा. शेखर कोइरालालाई पराजित गर्दै)

  • काठमाडौं–५: सस्मित पोखरेल (ईश्वर पोखरेल र प्रदीप पौडेललाई पराजित गर्दै)

  • काठमाडौं–४: पुकार बम (राजन भट्टराई र सचिन तिमल्सिनालाई पराजित गर्दै)

  • काठमाडौं–१: रञ्जु दर्शना (रवीन्द्र मिश्र र प्रबल थापालाई पराजित गर्दै)

  • काठमाडौं–९: डोलप्रसाद अर्याल (३५,०९३ मत)

  • काठमाडौं–८: विराजभक्त श्रेष्ठ (२४,५९२ मत)

  • काठमाडौं–६: शिशिर खनाल (२७,७११ मत)

  • काठमाडौं–३: राजुनाथ पाण्डे (कुलमान घिसिङलाई पराजित गर्दै)

  • काठमाडौं–१०: प्रदीप विष्ट (३७,४६९ मत)

  • कास्की–३: बिना गुरुङ (गण्डकीबाट रास्वपाकी एक्ली महिला विजेता)

  • कास्की–२: उत्तमप्रसाद पौडेल (३१,९११ मत)

  • मोरङ–४: सन्तोष राजवंशी (४०,८३३ मत)

  • बाँके–१: सुरेशकुमार चौधरी (३२,७९२ मत)

  • स्याङ्जा–१: धनञ्जय रेग्मी (२९,०७१ मत)

  • रुपन्देही–४: कन्हैया बनियाँ (२८,०६६ मत)

  • बाँके-३: खगेन्द्र सुनार

  • महोत्तरी-१ : प्रमोदकुमार महतो

  • चितवन-२ : रवि लामिछाने

नेपाली कांग्रेसले हालसम्म ५ वटा क्षेत्रमा जित निकालेको छ । तेह्रथुममा सन्तोष सुब्बाले नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै जित निकाले । अन्य विजेताहरूमा मुस्ताङ–१ बाट योगेश गौचन थकाली (लगातार दोस्रो पटक), रसुवा–१ बाट मोहन आचार्य (तेस्रो पटक), र मनाङ–१ बाट टेकबहादुर गुरुङ रहेका छन् । दैलेख–१ मा बासना थापाले कांग्रेसका लागि ऐतिहासिक जित दिलाएकी छिन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व–१ बाट निर्वाचित भएका छन् । पुराना शीर्ष नेताहरूमध्ये जित हासिल गर्ने उनी अहिलेसम्मका एक्ला नेता हुन् । त्यस्तै, कालिकोट–१ बाट महेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । नेकपा एमालेले हालसम्म बाँके–२ बाट मात्र जितको खाता खोलेको छ । एमालेका उम्मेदवार मोहम्मद ईश्तियाक राई २४ हजार ६२६ मतका साथ विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्