Logo

आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति एमालेले सुरु गर्‍याे: रिजाल



काठमाडौँ, ५ जेष्ठ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठी प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताएका छन् ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद रिजालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इङ्गित गर्दै प्रधानमन्त्री छँदा जे भने पनि हुन्छ भन्ने किसिमका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर विना तुकका कुराहरू गरेको आरोप लगाएका छन्  ।

रिजालले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेता प्रधानमन्त्री छँदा केही काल्पनिक कुराहरू गर्ने चलन गर्नुभयो । तर त्यस्ता कुरा गर्न सकिँदैन भन्ने लागेपछि आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति सुरु भयो । राजमार्गका ठाउँठाउँमा हवाईजहाज अवतरण गर्ने, रेल, पानी जहाज कुदाउने, त्यो सबै गरेको हेर्नलाई भ्युटावर बनाउने, नेपालीले मात्रै हेरेर पुग्दैन भनेर विदेशका अतिथिहरूलाई ल्याउन विशेष किसिमको अतिथि गृह बनाउने सम्मका कुरा भयाे । यस्तै सम्पन्न नभएका आयोजनाहरू उद्घाटन गर्ने, तयारी नै नभएका आयोजनाहरू शिलान्यास गर्ने काम भयाे ।’

उनले विपक्षी सांसदहरूले रेल र विना तयारी सडकको शिलान्यास गरेका कुराहरू उठाएको भन्दै कम्प्युटरबाट शिलान्यास भएको ढुङ्गा देखाउन उनीहरूलाई चुनौती पनि दिए ।

प्रतिक्रिया दिनुहोस्