Logo

आइसीसी वर्ल्डकप क्रिकेटः नेपालका लागि झनै कठिन



काठमाडौँ, ५ चैत । आइसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार व्यहोरेको छ । आयोजक युएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै युएईलाई ४६.३ ओभरमा १६८ रनको न्युन स्कोरमा रोक्न सफल भएको थियो । तर, प्रतिओभरको ३.३६ को औसतमा रन बनाउने लक्ष्य बोकेर मैदान प्रवेश गरेको नेपालले पुनः एकपटक युएईका सामु घुँडा टेकिदियो । नेपाली टोली ३५।१ ओभरमै केवल १२० रन बनाएर अलआउट भयो । यो हारले प्रतियोगिताको शीर्ष चारमा रहँदै सोझै विश्वकप छनौटको अन्तिम चरणमा स्थान बनाउने नेपालको अभियानमा गम्भीर धक्का पुगेको छ ।

पहिलो खेलमा पपुवान्युगिनीविरुद्ध आकर्षक अर्धशतक बनाएका रोहितकुमार पौडेलले यस खेलमा पनि नेपालका तर्फबाट सर्वाधिक ४० रन बनाए । ज्ञानेन्द्र मल्लको २८ र ओपनर कुशल भुर्तेलको ११ रन बाहेक अन्य कुनै पनि ब्याट्स्म्यान दोहोरो अंकमा रन बनाउन सकेनन् । आरिफ शेख, कमलसिंह ऐरी र सागर ढकालले रनको खाता नै खोल्न सकेनन् ।

‘आइसीसी वर्ल्डकप क्रिकेट लिग २’
नेपालको टप अर्डरका ब्याट्स्म्यानहरूको खराव प्रदर्शनले यो खेलमा पनि निरन्तरता पायो । इनिङको चौथो ओभरको पहिलो बलमा जुनैल सिद्दिकीले ओपनर कुशल भुर्तेललाई ११ रनमा क्लिन बोल्ड गरेपछि नेपाली ब्याटिङ लाइनअपको पतन शुरू भयो । जुनैदले त्यही ओभरमा अर्का ओपनर आशिफ शेखलाई ७ रनमा चिराग सुरीको हातबाट क्याच आउट गराए । अर्का भरपर्दा ब्याट्स्म्यान दिपेन्द्रसिंह ऐरी पनि खेलको नवौँ ओभरमा जम्मा ४ रन बनाएर आउट भएपछि नेपाल संकटमा परेको थियो ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले चौथो विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाल खेलमा फर्किएको थियो । तर खेलको २२ र २३ ओभरमा मल्ल र आरिफ शेखलाई आउट पार्दै युएईले खेललाई आफ्नो पक्षतिर ढल्काए । त्यसपछि लगातार विकेट झर्दै गएपछि नेपाल केवल १२० रनमा अलआउट हुनपुग्यो । नेपाललाई सस्तैमा प्याक अप गर्ने क्रममा युएईका बासिल अहमदले केवल ५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए । करण केसी सहित ३ महत्वपूर्ण विकेट जुनैदको नाममा रह्यो ।

त्यसअघि तीव्र गतिका दुई बलर सोमपाल कामी र करण केसीले एकआपसमा ७ विकेट बाँडेपछि नेपाल युएईलाई कम योगफलमा रोक्न सफल भएको थियो । सोमपालले ९ ओभरमा ३९ रन खर्चिएर ४ विकेट हात पारे । कप्तान सन्दिप लामिछानेले कसिकसाउ बलिङ गर्दै १० ओभरमा ३० रन दिएर १ विकेट लिए ।

नेपाली बलरहरूको उच्च प्रदर्शनलाई ब्याट्स्म्यानहरूको फितलो प्रदर्शनले छायाँमा पारिदियो । १२० रनको स्कोर नेपालले एकदिवशीय क्रिकेटमा बनाएको अहिलेसम्मको दोस्रो न्युन स्कोर हो । यसअघि २०१९ मा नेपाल युएईविरुद्ध नै ११३ रनमा अलआउट भएको थियो । युएईविरुद्ध अहिलेसम्म खेलिएका ५ खेलमा नेपाल २ खेलमा विजयी भएको छ भने ३ खेलमा हार ब्यहोरेको छ । २०१९ मै नेपालले युएईविरुद्ध बनाएको २५५ रन एकदिवशीय खेलमा नेपालको उच्च स्कोर हो ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हार सहित १० अंकका साथ तालिकाको छैठौँ स्थानमा छ । शुक्रबारको हारले नेपालको ब्याटिङमा देखिएको समस्यालाई झनै उदाङ्गो बनाएको छ भने प्रतियोगिताका आगामी खेलहरू नेपालका लागि अझै कठिन हुने पनि स्पष्ट भएको छ । प्रतियोगिता अन्तर्गत नेपालले आगामी आइतवार युएईसँग र सोमवार पीएनजीसँग खेल्ने कार्यक्रम छ ।

श्रोतःआइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्