काठमाण्डौ, २१ बैशाख । न्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको राजस्थान रोयल्सलाई हराएको छ ।
गए राति भएको खेलमा घरेलु टोली हैदराबादले राजस्थानलाई १ रनले हराएको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो । राजस्थानका रियान परागले सर्वाधिक ७७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका नितिश कुमार रेड्डीले ७६ रन बनाए । राजस्थानका आवेश खानले २ विकेट लिए ।
यो जितपछि हैदराबाद १० खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ ।
आईपीएलमा आज राति पौने ८ बजे दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र नवौँ स्थानमा रहेको मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ ।