मुम्बई, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।
गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो हार हो । चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो ।
जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । चेन्नईका अजिक्या रहाणेले ६१ रन बनाए । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । मुम्बईका जेसन बेहरनडोफ, पीयूष चवला र कुमार कार्तिकेले एक-एक विकेट लिएका थिए ।
त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । मुम्बईका ईशान किशनले सर्वाधिक ३२ रन बनाए । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए भने मिचेल सान्टनार र तुषार देशपान्डेले समान २ विकेट लिएका थिए ।