भारत, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई हराएको छ ।
आज बेङ्गलुरुमा भएको खेलमा घरेलु टोलीले राजस्थानलाई सात रनले हराएको हो ।
बेङ्गलोरले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८२ रनमात्र बनाउन सक्यो । राजस्थानका देवदत्त पड्डिकलले ५२, यशस्वी जैसवालले ४७ र ध्रुव जुरेलले नटआउट ३४ रन बनाए । बेङ्गलोरका हर्षल पटेलले तीन विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८९ रन बनायो । बेङ्गलोरका ग्लेन म्याक्सवेलले ७७ र फाफ डु प्लेसिसले ६२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले दुई-दुई विकेट लिएका थिए ।