लखनउ, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ ।
गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । लखनउका लागि कप्तान लोकेश राहुलले सर्वाधिक ३५ रन तथा क्रुनाल पान्ड्याले ३४ रन बनाएका थिए ।
हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।
हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ३५ रन बनाएका थिए । अनोमलप्रित सिंह ३१ रनमा आउट भए । अब्दुल सामद २१ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । लखनउका क्रुनाल पान्ड्याले ३ विकेट लिए भने अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्रोईले एक-एक विकेट लिएका थिए ।