काठमाडौं, ६ जेठ । लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो ।
प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले लखनउलाई ६ विकेटले हरायो । लखनउले दिएको २०६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक अर्धशतक प्रहार गरे । उनी २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाएर आउट भए ।
हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा रिटायर्ड भए । लखनउका लागि दिग्वेश राथीले २ तथा विलियम ओरोर्कले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । लखनउका लागि दुई ओपनर एइडेन मार्करम र मिचल मार्शले अर्धशतक बनाए । मार्शले ६५ तथा मार्करमले ६१ रन बनाए । निकोलस पूरनले ४५ रन बनाए ।
योसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ र प्लेअफ होडबाट बाहिरिएको छ ।