काठमाडौँ, ६ भदौ । आईपीओ भर्दा धेरै पैसा काटेको भन्ने आम गुनासोलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्कमा एक रूपता ल्याउने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले आयोजना गरेको (डेरिभेटिभ मार्केटको सम्भावना) विषयक कार्यक्रममा बोर्डका आध्यक्ष रमेश कुमार हमालले सी–आस्वा शुल्क अब पाँच रूपैयाँ मात्र बनाउने बताएका हुन् । जसमा एक रूपैयाँ बिक्री प्रबन्धक, एक रूपैयाँ सीडीएससी र तीन रूपैयाँ सम्बन्धित बैंकलाई हुने गरी प्रस्ताव गरिएको हमालले बताए ।
यसअघि १० रूपैयाँदेखि १०० रूपैयाँसम्म सी–आस्वा शुल्क लाग्दै आएको थियो । आईपीओ नपर्दा पनि बैंकले शुल्क भने महँगो काट्ने गरेको गुनासो धेरैबाट आउन थालेको थियो । आईपीओ पर्ने सम्भावना न्यून रहने तर हरेक आईपीओ भर्दा पैसा काट्ने हुँदा जनगुनासो बढ्दै गएको थियो ।
डेरिभेटिभ मार्केटको सम्भावना सम्बन्धी उक्त कार्यशाला दुई दिन चल्नेछ ।