काठमाडौं, १३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोमै रहेका हुन् ।
आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि गत साता दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।
दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो । उक्त अंक यस साता पनि कायम छ ।
पछिल्लो सातादेखि नेपालले कुनै खेल खेलेको छैन । अन्यको वरियता परिवर्तन हुँदा पनि उनको वरियतामा भने फेरबदल भएन ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा उक्लिएका छन् । उनको २९४ रेटिङ अंक छ । पाकिस्तानका सायम अयुब दोस्रोमा झरेका छन् । उनको २८१ रेटिङ अंक छ ।
तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । उनको २७२ अंक छ । पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ छन् ।







