Logo

आउँदाे असारभित्र सर्वाेच्चमा ८ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने प्रधानन्यायाधीशकाे घाेषणा



काठमाण्डाै, ८ फागुन ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ ।

सर्वोच्च बार एशोशिएशनको ५१औं स्थापना दिवसको अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सर्वोच्चमा ८ वर्ष नाघेका मुद्दा अहिले ७८ थान रहेकाे र आउँदो वर्षको असार मसान्तसम्म शून्यमा झार्ने बताउनुभयो । उहाँले ५ वर्ष नाघेका २ हजार ४ सय थान मुद्दा २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखेकाे सुनाउनुभयाे ।

यस्तै प्रधानन्यायाधीश राउतले सर्वोच्चका आदेश र फैसलाहरूमा सशक्त टिप्पणी गर्न कानून व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले आदेशप्रति आग्रह वा पूर्वाग्रह नराखी टिप्पणी गर्न अनुरोध गर्नुभयो ।

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरूसँग भएको ज्ञान र क्षमता कानून निर्माणको क्षेत्रमा सम्प्रेषण हुन नसकेको गुनासाे गर्नुभयाे । कानून बनाउँदा कानून व्यवसायी र संसद्बीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्