काठमाडौँ, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा सुरुमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।
उनले नागरिक अलमलमा पर्न सक्ने भन्दै उनीहरूलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता कार्यकर्ताको काँधमा रहेको बताए । उनले जनमत एमालेको पक्षमा पार्ने र त्यो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिए ।
उनले भने, ‘जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढङ्गले दुष्प्रभावित गर्लान् कि भनेर त्यसका निम्ति ध्यान दिने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।’







