Logo

‘आउँदो चुनावमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुनुहोस्’



काठमाडौँ, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

बाग्मती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा शुक्रवार उनले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि आग्रह गरेका हुन् ।

पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रूपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्न अध्यक्ष नेपालले नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सङ्घ र प्रदेश सभाको चुनावले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले त्यहीअनुसार लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुने गरी लाग्न उनले आग्रह गरेका छन् ।

‘निर्वाचनको समयमा टिकट पाउँछु कि पाउँदिन भन्ने कुरालाई ठूलो विषय नबनाउनुस्, राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व कसरी बढीभन्दा बढी बनाउने भन्नेमा केन्द्रित हुनुस्, सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्