Logo

‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार



उत्तर कोरिया, १ मङ्सिर । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोगलाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रामकताको प्रमाणको रूपमा हेर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गरेका थिए ।

उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मूर्खतापूर्ण कार्य’ भएको बताएका छन् ।

चोइले उत्तर कोरियालाई आफ्नो आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया भएको बताउँदै भने, “वासिङ्टनले टोकियो र सियोलसँग जति धेरै सुरक्षा सहयोग बढाउँछ, त्यति नै उत्तर कोरियाको सैन्य प्रतिकार तीव्र हुनेछ ।”

दक्षिण कोरियाका ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले भन्नुभयो, “सेनाले स्थानीय समयअनुसार बिहान १०:४८ बजे काङवोन प्रान्तको वोनसान क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको छ ।”

उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर (१५० माइल) उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्