ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको फुङ्लिङ बजारमा वैसाख १९ गते भएको लागलागीको पीडा बिर्सन नपाउँदै शुक्रबार राती आएको हावाहुण्डरी र वर्षाले क्षति पूर्याएको छ ।
आगलागीबाट ८ घर जलेर नष्ट भएको र साढे सात करोडको क्षति भएको घटना बिर्सन नपाउँदै शुक्रवार आएको हुरीले फुङ्लिङबासी त्रसित भएका थिए । सदरमुकाम फुङ्लिङसहित जिल्लाका विभिन्न ठाउँमा कतै घरको छानो उडाएको छ भने कतै रुख, बोट बिरुवा भाँचेको छ । दर्के पानी परेकाले ढल, सडक नालीमा क्षति पु¥याएको छ ।
त्यस्तै खोल्सीहरुमा भलबाढी आउँदा छेउछाउका बस्ती तथा खेतीबालीमा समेत क्षति पु¥याएको छ । सदरमुकाम फुङ्लिङस्थित जिल्ला खेलकुद विकास सतिमिको कार्यालय भवनको छानो उडाएको छ ।
हावाहुन्डरीले छाना उडाउँदा कार्यालयभित्र रहेको कम्प्युटर, प्रिन्टर, अन्य विद्युतीय मेशीनहरु, टेबुल, दराजमा पानीले भिजेर क्षति पुगेको छ भने कार्यालयमा भएका सम्पूर्ण कागजातहरु भिजेर क्षति पुगेको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले कार्यालयमा भएको क्षतिबारे प्रहरीलाई खबर गरेको बताए ।
यस्तै फुङ्लिङ बजारका विभिन्न टोलहरुमा पनि स्थानीयको जस्ताले छाएको घरको छाना उडाएको छ । बजारको शेर्पा टोलस्थित दिलिप लाबुङको घरमा रुख लडेर क्षति पु¥याएको छ । घर नजिकै अलैँची बारीमा रहेको दर्जनौं उत्तिसका रुखहरु हुण्डरीले ढाल्दा सो रुखहरुले लागेर लाबुङको घरमा क्षति पु¥याएको छ ।
त्यस्तै बजार क्षेत्रका टुक्रे, कभर्डहल, हुलाक टोल, रिजाललाइन, उकालीपानी लगायतका क्षेत्रमा हावाहुन्डरीले घरको छानोहरु उडाएको स्थानीयले बताएका छन् ।
जङ्गल तथा सडकका डिल (किनार) हरुमा रहेका रुखहरु ढलेर मेची राजमार्ग सहितका सडकहरु अवरुद्ध बनेका छन् ।
फुङ्लिङ बजार हुँदै टुक्रे, शेर्पाटोल, हाङ्देवा जाने सडक, शेर्पाटोल हुँदै बिहीबारे, सिद्धिडाँडा जाने सडक, फुङ्लिङ बजार–सुकेटार सडक, अन्य ग्रामीणहरुमा रुखहरु यत्रतत्र ढलेकाले सवारी सञ्चालन गर्नै नमिल्नेगरी अवरुद्ध बनेको बताइएको छ ।
त्यस्तै बजार नजिक फुङ्लिङ नगरपालिका–६ र वडा नं. ९ को सिमाना हिरेवा खोल्सामा एक महिलाको शव शनिबार बिहान फेला परेको छ । सिद्धिडाँडा जाने सडकदेखि करिव ५०÷६० मिटर तल खोल्सामा बाढीले बगाएको अवस्थामा शव फेला परेको र गएरातिको हावाहुण्डरीले ती महिलालाई बगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।
नाङ्गो शव फेला परेकाले शरीरको कपडा बाढीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ भने शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्काले गएरातीको वर्षा र हावाहुन्डरीले पु¥याएको क्षतिको विवरण सङ्कलनको कार्य जारी रहेको जानकारी दिए । उता हावाहुरीले गोड्ने बेला भएको मकै खेतीमा धेरै क्षति पु¥याएको स्थानीयले बताएका छन् । मकै लगायत अन्य कृषि बालीहरुमा क्षति पु¥याएको स्थानीय किसानले बताएका छन् ।