काठमाडौँ, ३१ वैशाख । आगलागी तथा वन डढेलोका घटनाबाट यो महिना १६ जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको १ गतेदेखि हिजोसम्म देशभर ५ सय २७ वटा आगलागी र ९४ वटा वन डढेलोका घटना भएका हुन् ।
आगलागीमा ११ जना र डढेलोमा परेर ५ जना गरी १६ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना पनि बढ्न थालेका छन् । एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ वटा घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको छ । आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीविना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम उच्च हुन्छ ।
आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञको आग्रह छ । आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायविना त्यस्तो ठाउँमा जान नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले बताए ।
दमकल तथा अन्य साधन स्रोत उपलब्ध भए आगो निभाउन सहज हुन्छ । तर दमकल नपुग्ने र आगो निभाउन चाहिने साधन स्रोत नभएका ठाउँ वा वन जङ्गलमा लागेको डढेलो निभाउन हम्मेहम्मे पर्छ ।







