Logo

आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्: अध्यक्ष लामिछाने



काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेखेर उनले चार वर्ष मिलेर काम गर्न र त्यसपछि आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन् ।

उनले राम्रा काम गरेर रास्वपालाई असान्दर्भिक बनाइिदन भनेका छन् । ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्, आफ्नो अपार क्षमता’, उनले लेखेका छन् ‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।’

उनले देशका तमाम समस्या सुल्झाउन रास्वपाबाहेकको सर्वदलीय सरकार गठन गरेर काम गर्न अपिल गरेका छन् । देशमा व्याप्त बेथिति अन्त्य गर्ने अन्तिम चार वर्षको रूपमा बुझ्न आग्रह गर्दै उनले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।

‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन् ।

चार वर्षअघि नै ‘एड्भान्स’मा घण्टी बजाएर सचेत गराएको भन्दै उनले त्यसपछि कि पुराना दल रहने कि आफूहरू रहने चेतावनी दिएका छन् । ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्