काभ्रे, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका छन् ।
शनिबार काभ्रेमा भएको पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका हुन् ।
‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ । हामीलाई एक पटक मौका दिनुस् । कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन् । तर, एक पटक मौका दिनूस् । आउने निर्वाचनमा जमानत जफत भएकाहरू विजयी भएर आउनुहुनेछ,’ उनले भने ।
सभापति लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले होस्टेमा हैसे । गर्न जनतालाई अपील गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई जोगाउन केही दलहरू लागिपरेको समेत बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण, कालो बजारीको जालो तोड्नु परेको छ । कयौं भ्रष्टाचारको फाइलको धुलो टक्टक्याउने बेला आएको छ । त्यसका लागि नेपाली जनताको साथ चाहिन्छ । हामी मुलुकको भ्रष्टाचारको जरो उखेल्न हिँडेका छौं । हामी होस्टे गर्छौं तपाईंहरू हैसें गरिदिनुहोला । कोही दल भ्रष्टहरूलाई बचाउन लागेका छन्,’ सभापति लामिछानेले भने ।







