काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।
प्रधानमन्त्रीले भने, “यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।”
सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।”
प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली)ले दुई-दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरेका थिए ।
प्रधानमन्त्रीले भने, “दुई पटक संसद् भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हौँ । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।”
गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे । उनले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरेका थिए ।







