अर्घाखाँची, २८ वैशाख । आगोले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।
खाकाबेसीको बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको हो । ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि गाउँ नै शोकमा छ ।
गएको मङ्गलवार दिउँसो भूमिकास्थान-२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका वेल्वासे टोलका चारै जनाको उपचारका क्रममा ज्यान गएको हो । आगलागीका घाइतेहरूलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो ।
पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएकोमा उपचारका क्रममा काठमाडौँमा ज्यान गएको थियो । आगलागीमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको ज्यान गएको हो ।
आगलागीमा परेर घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधार भइरहेको छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।







