म्यानमार, १४ वैशाख । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ ।
सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।
सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।
सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित दोषी ठहर गरेर सुनाएको जेल सजायको अवधि ११ वर्ष पुगेको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीलाई मतदाता ठगीलगायत आपराधिक अपराधको अभियोग लगाइएको छ ।
सुकीले सबै आरोपहरू अस्वीकार गरेकी छन् । गएको डिसेम्बरमा उनलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।