काठमाडौँ, १९ असोज । देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ ।
अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो अति ठूलो वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह छ ।
यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै ठाउँ अत्यधिक वर्षा हुने अनुमान रहेको मौमसविद् गंगा नगरकोटीले बताए ।
सोमबार बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको पानी पर्ने क्रम मध्यपश्चिम हुँदै पश्चिमी क्षेत्रमा पुग्दै छ । आज देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताएका छन् ।
उनका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ । लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।
यस्तै, यस वर्षको दशैँ वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले टीका लगाउन जाँदा खहरे खोलानालाहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् ।






