
काठमाडौँ, २५ भदौ । अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।
आज दिउँसो पनि मधेस प्रदेश र प्रदेश १ बाहेक बाँकी सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए । दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना छ । आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यसैबीच ठूला पानी परेका ठाउँमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन–चार घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।






