काठमाडौं, २० असोज । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै,कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । मधेश प्रदेश, कोशी प्रदेशको तराई भू-भाग तथा कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।






