Logo

आजदेखि अस्थायी मतदाता नामावली संकलन गरिँदै



काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले आजदेखि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने चुनावका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।

सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा यसअघि नै आदेश दिएको थियो ।

ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा, कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली सङ्कलन गरी मतदान गर्न पाउने व्यवस्था छ ।

असोज ८ गतेदेखि २६ गतेसम्म कार्यविधिमा उल्लेख भएअनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न (प्रदेशरजिल्ला निर्वाचन अधिकारी) को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्