काठमाडौं, २६ पुष । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो बैठकले दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने निर्णय गरेको थियो। बैठक पुस २८ गतेसम्म चल्नेछ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी बैठकको मुख्य एजेन्डा रहनेछ। सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुंग्याइसकेको विषय अनुमोदनका लागि बैठकमा प्रस्तुत हुनेछ।
त्यसैगरी, पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन परिचालन समिति तथा अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति गठन भइसकेको विषयमा पनि थप छलफल हुने जनाइएको छ।
बैठकमा पार्टी महाधिवेशनमा पराजित, अनुभवी तथा हाल कार्यकारी भूमिकाबाट अलग रहेका नेताहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने तयारीसमेत रहेको छ।







