काठमाडौं, २८ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अधिवेशनको पहिलो दिन सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९५ अनुसार आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई संयुक्त बैठकमा सहभागी हुन दिउँसो ३:४५ बजेसम्म उपस्थित भइसक्न आग्रह गरेको छ।
यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्। प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पढेर सुनाइने कार्यसूची रहेको छ।
त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन तथा नियमावलीअनुसार बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ। सरकारले जारी गरेका विभिन्न आठ वटा अध्यादेश पनि आजै दुवै सदनमा टेबल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ।





