Logo

आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने



काठमाडौँ, २९ चैत । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ । मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।​

आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो । सरकारको लक्ष्य अनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालनमा ल्याउनले कार्ययोजना खानेपानी मन्त्रालयले अघि बढाएको थियो ।

मंगलबार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुमागमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्