झापा, १ बैशाख । आज विक्रम संवत् २०७९ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि संकल्प गर्ने चलन समेत रहेको छ ।
आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन्। आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ ।