काठमाडौँ, ५ साउन । लिम्बू संस्कृतिमा बनेको फिल्म ‘लुङा’ आजदेखि प्रदर्शनमा आएकाे छ ।
समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका हुन् ।
याे चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारकाे अभिनय रहेकाे छ ।
याे चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि रहेको निर्देशक राईले जानकारी दिए । ‘यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ’, निर्देशक राईले भने ।
भुवन सिंह राईले लेखेकाे कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन् । यसलाई काठमाडौँमा जीजीए ग्रुप र रिच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।