काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ को सेवालाई तीन ‘शिफ्ट’ मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।
आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘हेलो सरकार’ कक्षको निरीक्षण र अनुगमनसहित प्रधानमन्त्रीले नागरिकको समस्या सम्बोधन गरी तीन ‘शिफ्ट’ को कार्यक्रम शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । ‘हेलो सरकार’ को डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनका लागि तीन ‘शिफ्ट’ को कार्यतालिका निर्माण गरी त्यही अनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ ।
‘हेलो सरकार’ मा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।
गुनासोहरू सम्बोधनका निम्ति ‘र्यापिड रेस्पोन्स टिम’ समेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले बताए । यो टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए/नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।







