काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा, मा बस्दैछ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।
बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको रणनीति तय गर्ने विषयमा छलफल हुने जनाइएको छ। दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यालयमा बस्न लागेको यो पहिलो बैठक हो।
नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि पार्टीको संगठनात्मक दिशा, चुनावी एजेन्डा र प्रदेशस्तरको समन्वयलाई सुदृढ बनाउने विषय पनि बैठकको प्रमुख कार्यसूचीमा रहने बताइएको छ।
बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ। कांग्रेसले यस बैठकलाई आगामी निर्वाचनको तयारीका लागि महत्वपूर्ण मोडका रूपमा हेरेको छ।







