काठमाडौं, १३ कात्तिक । मधेश प्रदेशको महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ ।
आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।
आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ ।
कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।
अमला फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता रहेको छ । त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ । यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौँ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ ।
पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेका हुन् । त्यसै कारण आजको दिनलाई कुष्माण्ड नवमी भनिएको हो । आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ ।
यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरू झर्ने मान्यता छ । त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ । आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ । यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भई सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।






