काठमाडौँ, १५ असोज । आज अक्टोबर १ तारिख अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता: बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराकासाथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।
नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या झण्डै ३० लाखको हाराहारीमा छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ । यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ ।






